काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुग्नुभएको छ । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लाग्नुभएको छ ।
उहाँ माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिनुभएको छ । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियानमा हुनुहुन्छ ।
ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताउनुभएको छ । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उहाँले पत्रकारहरुसँग भन्नुभयो ।
डडेलधुरामा बिगत तीन महिनादेखि ढकालले मत मागिरहनुभएको छ । बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने क्रममा देउवासँग नोकझोक भएपछि ढकाल चर्चामा आउनुभएको थियो ।