काठमाडौँ
हरेक पटकको निर्वाचनमा मत बदर हुने दरमा सुधार आउन सकेको छैन । मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा मत बदर हुने दर बढेको हो । उसो त प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले सदनमै मतदान गर्दा मत बदर भएको इतिहास हामी सामू छ । मतदान गर्ने नागरिकको अधिकारलाई थप सुरक्षित गर्न र मत बदर हुन नदिनका निम्ति यसपटक पनि निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको छ । ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाहरुमा स्वयम्सेविकालाई परिचालन गरेर आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्यसको प्रभावकारिता र निष्पक्षतामा भने आयोगले निगरानी राख्नु जरुरी हुन्छ । मतदातालाई मतदाता शिक्षा दिने क्रममा गलत अभ्यास पनि भएको पाइन्छ, अमुख पार्टी र उम्मेदवारका चिन्हमा मतदान गर्ने तरिका सिकाएर सर्वसाधारणहरुको अधिकार कुण्ठित गर्ने नजीर बसको छ । यसमा आयोग चनाखो हुनुपर्दछ । विभिन्न सञ्चारमाध्यमबाट प्रसारण भइरहेको मतदाता शिक्षा कार्यक्रमको घरदैलो अभियान पनि शुरु गरिएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका निम्ति स्वयम्सेविकालाई खटाइएको र यसले मत बदर हुने दर घट्ने विश्वास व्यक्त गर्नुभयो ।
मतदाता शिक्षा कार्यकर्ताले सबैलाई एकरुपता हुनेगरी सिकाउने सहप्रवक्ता अर्यालको भनाइ छ। दुईवटा ब्रोसरलाई करिब १५ जना बराबरको हातमा पु¥याउने आयोगको लक्ष्य रहेको छ । मतदाता शिक्षा कार्यकर्ताले चित्रात्मक र लेखेका कुराहरुलाई देखाएर शिक्षा प्रदान गर्नेछन् ।
गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएका थिए । बढ्दो प्रविधिसँगै विद्युतीय मेसिन प्रयोग गर्नुपर्ने ठाउँमा आयोगले यसपटक पनि प्रयोगमा ल्याउन सकेन । हाम्रो संविधान अनुसार पाँच वर्षमा एकपटक आउने निर्वाचनमा मतदाताले आफूले चाहेको चिन्हमा सही रुपमा मतदान गर्न पाउन् भनेर आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।