काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनस्थीत खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दावी गर्नु भएको छ ।
उहाँले दुई बर्षमा खहरेको समस्या समाधान गर्न नसकेमा फेरि मत माग्न नआउने प्रतिबद्धता पनि जनाउनु भयो । कपनका घरदैलोका क्रममा ९३ बर्षिया बृद्धाले थापालाई टिका लगाइदिदै राम्रोसँग पढ्न र फस्ट भएर आउन आर्शिवाद दिनु भएको थियो ।
निर्वाचनका लागि मत माग्न कपनस्थीत खहरे खोलाको बस्तीमा गएका बेला उहाँले खोलाको व्यवस्थापनका लागि आफ्नो प्रक्रिया अगाडि बढाई सकेकाले अबको दुई बर्षमा काम पुरा हुने जानकारी दिनुभयो । खहरे खोलाको छेउमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं ।
उहाँले खहरेको छेउमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन आग्रह गर्नुभयो । “मैले तपाईहरुको घर अगाडिको फोहोर मात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईहरुको साथ अनिवार्य हुन्छ, मलाई रुख चिन्हमा मतदान गरेर त्यो अठोट पुरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ,” उहाँले भन्नुभयो ।
बुढानीलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य बर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ । बाढीको समस्या समाधानका लागि आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाउन लागिएकोले त्यो निर्माण सम्पन्न भएपछि समस्या नहुने नेता थापाले जानकारी दिनुभयो ।
बाढीको समस्या समाधान गर्न आफ्नो भरमजदुर प्रयासबाट काम अगाडि बढेपनि कतिपय व्यक्तिले भ्रमण फैलाउने प्रयास गरेकाले भ्रममा नपर्न पनि उहाँले स्थानीयबासीलाई आग्रह गर्नुभयो ।
उहाँका अनुसार बाढी नियन्त्रणका लागि पटक पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट पारेको छ र काम अगाडि बढीरहेको छ । विक्रम संम्वत २०५४ सालदेखि सुरु भएको खहरेको बाढीको समस्या समाधान गर्न कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाउनु भएको छ ।
उपत्यका विकास प्राधिकरण मार्फत अगाडि बढाईएको सो प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेर गत महिना बोलपत्र पनि प्रकाशित गरेको छ । दैनिक घरदैलोका क्रममा नेता थापालाई अधिकांश मतदाताले पुरानो पुस्तालाई विस्थापित गर्न र राजनीतिमा पुस्तान्तरण गर्न सक्ने नेताका रुपमा लिएको बताउने गरेका छन् ।