Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

आम निर्वाचन भोलि हुँदै, मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म (खास खबर)

आम निर्वाचन भोलि हुँदै, मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म (खास खबर)

  • शनिवार, मंसिर ३ २०७९

  • 566
    SHARES

  • आम निर्वाचन भोलि हुँदै, मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म (खास खबर)

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन भोलि आइतबार हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

    निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । भोलि हुने मतदानका लागि देशभरका मतदान केन्द्रमा निर्वाचन सामाग्री पुगिसकेको छ भने सबै ठाउँमा बुथ निर्माण कार्य पनि सकिएको छ । मतदान केन्द्रहरूमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरू निर्माण गरिएका छन् । मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा गई निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गर्नुभएको छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको र कुनै पनि डर, त्रास, धम्कीमुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको हो ।

    उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी र सर्वसाधारणलाई आग्रह पनि गर्नुभएको छ ।

    आयुक्त थपलियाले मतदान अधिकृत, मतदानस्थलमा खटिएका कर्मचारी र मतदानमा खटिएका सुरक्षाकर्मीलाई अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिइएको पनि बताउनुभएको छ । कसैले निर्वाचनको निष्ठालाई खलबलाउने दुस्साहस गरे कारबाही गरिने उहाँले बताउनुभयो ।

    यसैगरी, सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
    गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । मतदानका लागि उपर्युक्त वातावरण भएको उहाँको भनाई छ ।

    उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मी निर्वाचन केन्द्रमा खटिएका छन् ।
    मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको छ ।

    भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँधली रहित अवस्थामा सम्पन्न हुने मानव अधिकारवादी नेता सुदिप पाठक बताउनुहुन्छ । कहीँ कतै निर्वाचन बहिस्कार टोलीले असन्तुष्टि जनाएपनि अन्य कुरामा भय नभएको उहाँको भनाई छ ।

    निर्वाचनका लागि देशभर कुल १० हजार ८ सय ९२ वटा मतदानस्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै समानुपातिकमा मात्रै मत दिने अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र तोकिएको छ ।

    मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । आयोगका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् ।

     


    शनिवार, मंसिर ३ २०७९०८:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij