काठमाडौं । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको अनुपस्थितिमै निर्वाचन कार्यालयले मतगणना सुरु गरेको हो ।
मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्याभन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धनसहित रास्वपा र अन्य उमेदवारहरु विरोधमा उत्रिएका थिए ।
उनीहरुले पुनः मतदानको माग गर्दै दिनभर मतगणनास्थल बाहिर नाराबाजी गरे पनि निर्वाचन कार्यालयले साँझदेखि नेकपा (एमाले), नेमकिपा र केही स्वतन्त्र उमेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सुरु गरेको हो । निकै कडा सुरक्षा व्यवस्थाका बीचमा मतगणना सुरु भएको हो ।
मतपेटिकामा र मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या मिलेको तर कम्प्युटर प्रविष्ट गर्दा कर्मचारीबाट कमजोरी भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले छलफलका लागि पटकपटक दलहरुलाई बोलाएको थियो । दलहरुले भने विवाद भएको वडामा पुनः मतदानको माग गर्दै बैठकमा बस्न अस्वीकार गरेका थिए ।
रास्वपाका उमेदवार गणेश पौडेलसहित सत्ता गठबन्धनका नेताहरुले भने कम्प्युटरमा राखिएको डाटाभन्दा बढी संख्यामा मतपत्र भेटिएको भन्दै विरोध जनाइरहेका छन् । निर्वाचन कार्यालयले पटकपटक सर्वदलीय बैठकका लागि सूचना गर्दा पनि ती दलहरु उपस्थित नभएपछि मतगणना नियमितरुपमा सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले उमेदवार विष्णु पौडेले रास्वपाका उमेदवार गणेश पौडेललाई ९०६ मतले पछाडि पारेपछि रोकिएको मतगणना १४ घण्टा पछि सुरु भएको हो ।