नेपालको राजनीति चक्रब्युहमा फसेको छ । नत नेपाली राजनितिक दल र दलको नेताको हातमा छ, न नेपाली नागरिकले यस गन्जगोल स्थितिलाई सुधार्ने हैसियत राख्छन । यत्ती फरक होकि कुनै दलको जरो र फेदनै उतैबाट हुर्किएको छ ।
कुनै दलको जरो र फेद आफ्नैतिर भए पनि मल जल उतैबाट हालिएको छ । फल खाने बेला उतैको खटन पटनमा भाग लगाइएको हुन्छ । कुनै दलको फेद र जरो यतै छ, तर हाँगाहरु फ्याट्टफुट्ट उतै तिर तेर्सिएर पलाएका छन ।
हामीले २००७ साल देखिनै नागरिक स्वतन्त्र, राष्ट्र भक्ती र देशभक्तीको नारा उछाल्दै अघिल्लो शासकलाई असफलताको पगरी भिरायौँ र आन्दोलन तथा क्रान्तिका नाममा अब त देशले केही पाउला की भन्दै नेपाली जनतालाइ सधै भरी थाङ्ग्नामा सुताउने काम गरिरह्यौँ ।
२००७ सालको राणा शासन हटाउने राजा त्रिभुवन र काङ्ग्रेस कम्युनिस्ट मार्का, २०१७ सालमा प्रजातान्त्रिक नामको सरकार र बिपिलाई पदच्युत गर्ने महेन्द्र मार्का, २०३६ सालमा निलो र पहेँलोको नाटक मन्चन गर्ने राजा र राजनितिक दल मार्का, २०४६ सालमा निरङ्ग्कुस पन्चायत हटाउने काङ्ग्रेस कम्युनिस्ट मार्का, २०५२ सालमा दलिय ब्यबस्था हटाउन जनयुद्धको सुरुवात गर्ने माओवादी मार्का, जनयुद्धकै बिचमा २०५६ सालमा शेरबहादुर देउवाको कमजोरीमा राजा ज्ञानेन्द्रको प्रतिगामि मार्का, २०६२ सालको प्रतिगामी र संबैधानिक राजतन्त्र फाल्ने माओवादी सहित संयुक्त राजनितीक दलिय मार्का, त्यस पछि संविधान सभाको चुनाब गराउन दलहरु आफैले आफुलाई असक्षम घोषणा गर्दै गैरदलिय राजनीतिलाई बढावा दिदै अगाडि सारिएका खिलराज मार्का । सायद राजनिती परिवर्तनको लागि यतिधेरै संघर्ष विश्वमा कहिँ छ भने मेरो देश नेपालमा मात्रै छ ।
राजनितीक परिवर्तन हुदैमा देशको समग्र परिस्थितिले छलाङ मार्ने हो भने मेरो देश अहिले विश्वकै एक नम्बर नमुना देश बन्नुपर्ने हो । भौगोलिक दृस्टीले स्वर्ग मानिने मेरो देश, हिमाल, पहाड, चुरे, तराइ मधेस । हिमालका दुर्लभ जडिबुटी र खरबौ पर्ने युरोनियम खानी र त्यहीँको मुलबाट निक्लेको स्वच्छ पानी ।
फलफूल, चिया, कफि, अदुवा, बेसार, अलैची, कोदो, फापर जस्ता अनगिन्ती चिजहरु उत्पादन गर्न सक्ने पहाडी भुमी । फलाम, तामा, चुनढुङ्गा, ढुङ्गा, गिटि, बालुवा जस्ता अनगिन्ती सम्भावना रहेको चुरे बस्ती, धान, गहुँ, मकै जस्ता अनगिन्ती कृषि बाली उत्पादन हुने तराई मधेसको उर्बर भुमी ।
यी याबत अनगिन्ती सम्भावना भएको देशलाइ सहि बाटो र सहि दिशा हुँदै समृद्धिको उचाइमा पुर्याउने एकमात्र बाटो भनेको सकारात्मक सोच सहितको राजनिती नेतृत्वपना र त्यसलाइ परिधिभित्र राख्ने संबैधानिक कानुनहरु हुन् । यहाँ न राजनीतिक दल र तिनका नेता सुध्रन सके, न त यिनै नेता र संविधानविदहरुले कानुन नै इस्मुथ र स्मार्ट बनाउन सके । आखिर किन केका लागि र कस्को लागि, कुन स्वार्थ, कुन बाध्यता छ हाम्रा नेताज्युहरुलाई ? होला आफ्ना आफ्ना दलहरुको विभिन्न स्वार्थहरु हुन सक्छ्न, तर त्यहिँ स्वार्थको लडाइमा आफ्नो देश, मातृभुमी र नागरिकलाई दाउमा राखेर राष्ट्र र नागरिकको जीवन माथीनै खेलवाड गर्ने अधिकार कसरि पाए यिनिहरुले ? मान्छेले नजानेर गरेको गल्तीलाइ एक दुई पटकसम्म माफी दिन्छ, तर तेस्रो पटक पनि त्यहिँ गल्ती दोहर्याउछ भने उसलाई माफी दिनु अबस्य न्यायोचित ठहर्दैन र माफी दिने पनि सजाएको भगिदार हुनुपर्ने छ ।
यहाँ २ पटक ३ पटक हैन दशौँ पटक भन्दा बढि गल्ती दोहोर्याउदै छन्, अनि माफी दिनेले पनि आँखा चिम्लेर माफी दिइराखेको छौँ । भन्नुस अब हामीले कस्लाइ दोष दिने ? घुस खान्या र घुस लिन्या दुबै दोषी हुन भनेर पृथ्वीनारायण शाहले त्यत्तिकै अबस्य भनेका छैनन । हिजो आजकै राजनीतिक परिस्थितिलाई नियालौँ, हामीले सामाजिक सन्जालमा सबै भन्दा दोष प्रचण्डलाई दिइराखेका छौ । स्वभाविक नै हो उनी अस्थिर नेता हुन, स्थिर नेता हुदै होइनन र अब हुने सम्भावना पनि छैन ।
आफुले नचाहे पनि उनी रङ्ग फेर्न बाध्य छन् । स्वभाबिक रुपमा नै उनी र उनको पार्र्टी अब उकालो लाग्ने छाँटकाट कतैबाट पनि देखिदैन । उनी आफ्नो देशभन्दा बाहिरी देशबाट बढि असुरक्षित महसुस गर्छन । जानेर वा नजानेर उनको राजनीति धरातलको लगनगाठो नै छिमेकी देश हुँदै पश्चिमा देशसङ्ग हुन पुग्यो र त्यहिँ गलपासो उनलाइ नमरुन्जेल भइ नै रहने छ ।
त्यसैले पल्लो छिमेकिको घरमा रोपेको रुखको हाँगो वल्लो छिमेकिको आगन माथी आएर फल्यो भन्दैमा वल्लो छिमेकी मेरो आँगन माथीको फल भनेर देखेर चित्त त बुझाउला तर कहिल्यै खाएर चित्त बुझाउन सक्दैन । अकस्मात झट्टारोले झारेर २÷४ फल खान सक्ला, तर सबै खान्छु भन्यो भने पल्लो छिमेकीले हाँगो नै काटिदिन सक्छ, किनकी रुख उसको अधिपत्यमा छ । प्रचण्ड पनि त्यहिँ रुख हुन, जसबाट २÷४ दाना खाइहाले पनि सबै खाने आश गर्नु आफ्नै मुर्खता हुनेछ ।
अहिले एमालेले २/४ वटा फल त खाइ सक्या थियो । फेरि अहिले अलि अलि र ढाइ बर्ष पछि पुरै फल खान के अघि सरेको थियो छिमेकीले रुख नै काटिदिन्छु भने पछि के गरून बिचरा । उनको आफ्नै बाध्यता छ भन्ने थाहा हुदाहुदै मुख मिठ्याउनु एमालेको बच्चनापन हो । यहाँ राजनीतिक इगोमा एउटा भाईले अर्को भाईलाई तेस्ले मात्रै खाने ? म पनि के कम भन्दै अगाडि सर्दैछ । अहिले त २/४ दाना खान सक्ला, ढाइ बर्षपछी सबै खान्छु भन्यो भने अबस्था उहीँ नहोला भन्न सकिँदैन ।
अनि भन्नुस यस्तो दलहरुको बेइमानी राजनितीले देश कसरी आगाडी बड्छ ? आफै सोच्नुस । अर्को भाइले बिरुवा आफ्नै जग्गामा रोपेर के गर्नु सधै भरी बिरुवामा छिमेकीबाट पठाइएको युरिया मलमात्रै हाल्छन । केही समयत राम्रै फल देला, अनि लगातार आयातित युरिया मल हालेको हालेइ गरे पछि न रुखले हागाबिगा हाल्न सक्छ, न फल नै राम्रो दिन सक्छ । अनि जमिन युरिया मलले जर्जर बनेपछि त्यो माटोलाई उर्बर बनाउन अतिनै संघर्ष गर्नु पर्छ । भुमी नै जर्जर बनेपछी बोट कसरी सप्रन्छ त ? यहाँ रुख भनेको दल हो र भुमी भनेको जनता हुन । यिनीहरुले रुख पनि सुकाउदै छन, अनि भुमीपनि जर्जर बनाउदै छन । यिनिहरुलाइ जमिनमा कम्पोस्ट मोल हाल्नु पर्छ भन्ने कसले सिकाउने ? अब त अति नै भयो, अब पनि चेतना नआए कहिले आउने ?
त्यसैले अव हरेक नागरिकले पार्टी भन्दा माथी उठेर ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्नुपर्छ । आफूले समर्थन गरेको वा भोट हालेको पार्टी वा नेताले गलत गरेभने त्यसको कठोर विरोध गर्ने अधिकार र दायित्व पनि मतदातासँग हुन्छ । त्यो अधिकारलाई हरेक नेपालीले स्वविवेकले प्रयोग गर्नुपर्दछ । नत्र देश सधैँ नेताले विगार्ने हामी भेडे समर्थक भएर देश विग्रिरहने हुन्छ । अतः विवेकी जनता बनौँ, सत्य तथ्य चेक जाँच गरेर विरोध वा समर्थन गरौँ । देश आफै बन्छ । देश नेताले बनाएनन भन्ने, तर जनता नै अन्धभक्त बन्दा सम्म देश बन्दैन । नेताले लुटिरहन्छ । त्यसैले देशलाई सही बाटोमा डोर्याउने जिम्मा जनतालाई छ, अन्धभक्त भएर हैन, विवेकी भएर ।