काठमाडौं । ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै काठमाडौं महानगरपालिकाको टोली पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले लिखत कीर्त्तेमा अनुसन्धान गरिरहँदा महानगरपालिकाको नगर प्रहरी जग्गा संरक्षणका लागि पुगेको हो।
काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने तयारी गरेको छ। आइतबार(आज) दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार गएको हो। पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताउनुभएको छ ।
त्यहाँभित्र रहेको अस्थायी संरचना हटाउन ७ दिनको अल्टिमेटम दिइएको पाण्डेले बताउनुभयो । निवास परिसरमा निर्माणाधीन राष्ट्र बैंक भवनका सामानहरू राखिएको छ । महानगर प्रहरीले त्यहाँ कार्यरत कामदारहरूलाई समेत हटाउन अल्टिमेटम दिएको हो ।
उक्त जग्गासम्बन्धी विवाद विशेष अदालतमा पनि विचाराधीन छ। विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीआईबीले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।