Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेम्वाङको काल्पनिक पुत्र बन्दै पत्र कोरेका लेखकको त्यो दिन र भाइरल पत्र

नेम्वाङको काल्पनिक पुत्र बन्दै पत्र कोरेका लेखकको त्यो दिन र भाइरल पत्र

  • शुक्रवार, भाद्र २९ २०८०

  • 3.2K
    SHARES

  • नेम्वाङको काल्पनिक पुत्र बन्दै पत्र कोरेका लेखकको त्यो दिन र भाइरल पत्र

    खेम बम
    संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति नेपाली रेडियो नेटवर्क र नेपाली नेटवर्क डटकम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाली रेडियो नेटवर्कको प्रसारण असोज ३ गते भएकोले पनि संविधानसभाका अध्यक्ष नेम्वाङसँग हरेक वार्षिकोत्सवमा भेट हुने मौका मिल्यो । नेम्वाङलाई आमन्त्रण गर्दा कहिल्यैपनि उहाँको नाई भन्ने शब्द आएन । नेटवर्कले मनाएका सबै वार्षिकोत्सवमा उहाँको उपस्थिति रहेको छ । स्वभावैले उहाँसँग भेट भइरहँदा सामान्यतया हालखबर सोध्ने र कामको विषयमा कुराकानी हुन्थ्यो । उहाँले जहिले पनि प्रेरणा दिनुभयो ।

    जब नेम्वाङको मृत्यु भएको खबर बिहान ५ बजे सामाजिक सञ्जालबाट सुने त्यसपछि म आफै छाँगाबाट खसेजस्तै भएँ । बिहानीपख मैले काम गर्ने टेलिभिजनमा नेम्वाङलाई नजिकबाट चिन्नुभएका एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई ७ बजे नै फोन गरेर गाडी पठाए र कार्यक्रममा अतिथि बोलाए । उहाँले सहजै स्वीकार गर्नुभयो । कार्यक्रम निकै भावविह्वल बन्यो । उहाँ धरधरी रुनुभयो । मैलेपनि आफूलाई सम्हाल्न गाह्रो भएको थियो । मानवीयताको हिसाबले जो कोहीलाई दुखद् क्षणमा आँखा रसाउनु कुनै नयाँ विषय थिएन । करिब बडालजी सँग ५० मिनेट साक्षात्कार भएको थियो ।

    दिउँसोको समय मैले धेरै एमाले नेता, कार्यकर्ताहरुसँग फोन सम्पर्क गरेँ, उहाँको मृत्युमा दुःख मिसाए । मेलै सुने, दुवै छोरा विदेशमै हुनुहुन्छ, त्यतिबेला मेरो मस्तिष्कले हरेक नेपालीको पीडा उस्तै भन्दै एउटा भावना कोरिसकेको थियो । त्यहाँ मैले समयको ख्याल गरिन, भावनाको विचार गरिन, मात्र एउटा संविधानसभाका अध्यक्षलाई सम्झेँ, छोराहरु नजिक भइदिएको भए वातावरण नै फरक हुने थियो की भन्ने भान भयो । मैले सम्झिँदै एउटा लेख तयार पारेँ । जसको शीर्षक थियो, सुवाचन्द्र नेम्वाङलाई छोराको पत्र ः ‘बुवा म आइसकेँ’ । नेपाली नेटवर्क डटकमबाट प्रकाशित भएको यो काल्पनिक पत्र दुईचार घण्टामै भाइरल भएछ । टिकटक, फेसबुक, अनलाइन कपि, युट्युवसम्म बाचन गर्न भ्याएछन् ।

    पत्र कोर्नुको कुत्सित मनसाय केही थिएन । म न कुनै राजनीतिक दलमा आवद्ध व्यक्ति हुँ न कुनै पपुलारिटी चाहिएको छ । मैले त आदरणीय नेम्वाङज्यूसँग नजिक भएर बसेको नाताले उहाँको मृत्युको असह्य पीडालाई एक छोराको पत्रबाट व्यक्त गरेको हुँ । मलाई लाग्छ पत्र भाइरल भएपछि त्यसमा के कस्ता शब्दावली प्रयोग भए, राजनीतिक स्टण्ट थियो की भनेर दुखमा रहेको परिवार र छोराहरुले आक्रोश व्यक्त गर्नु स्वभाविक थियो । कसैलाई मैले निस्वार्थ भावनाले लेखेको काल्पनिक पत्र राजनीतिक रोटी सेक्ने मेलो बन्यो होला, समाजमा अराजक भिड पनि छ नानाथरी भनेर हिडिरहेका छन् । तर, एक लेखकलाई यति थाहा छ नेम्वाङ नेपाली राजनीतिका खम्बा थिए, उनी हरेक समयलाई आफू अनुकुल बनाउन सक्थे, समन्वयकारी भूमिकामा उहाँको तीक्ष्ण खुबी थियो ।

    अन्तमा, पत्र पढिसकेपछि शोकाकुल परिवारका सदस्यहरुको मन अहिले केही हलुंगो भइसक्यो होला । नेम्वाङप्रति देखाएको आदर्शभाव परिवारले आत्मसात गरिसक्यो होला । नानाथरी भनेर हिडेका भिडहरुप्रति परिवारको विश्वास गुमिसक्यो होला । अब, सुवास छरेर ब्रह्मलीन हुनुभएका नेम्वाङप्रति मेरो भावना प्रष्ट भइसक्यो होला । समस्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस्, आदरणीय दाई सुवास नेम्वाङको मृदुभाषीपन, शिष्टता सबैतिर छरियोस् उहाँलाई पुनः एकपटक हार्दिक श्रद्धासुमन ।।

     


    शुक्रवार, भाद्र २९ २०८००६:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij