Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शिक्षकलाई विद्यार्थीको भावुक पत्र : ‘गुरु पल्लो घरको दाइ झोला भिरेर हिँड्यो, हामी कहाँ जाऔँ’

शिक्षकलाई विद्यार्थीको भावुक पत्र : ‘गुरु पल्लो घरको दाइ झोला भिरेर हिँड्यो, हामी कहाँ जाऔँ’

तपाईंले पढाएका मेरा काका आज डाक्टर हुनुहुन्छ उतै काठमाडौं बस्नुभएको छ, पल्ला घरका दाजु प्रहरीमा हुनुहुन्छ, उतै काठमाडौंतिर हुनुहुन्छ, गाह्रो परे सबैलाई भेट्नुहोला ल ।
  • बिहिवार, आश्विन ४ २०८०

  • 4.7K
    SHARES

  • शिक्षकलाई विद्यार्थीको भावुक पत्र : ‘गुरु पल्लो घरको दाइ झोला भिरेर हिँड्यो, हामी कहाँ जाऔँ’

    खेम बम

    गुरु म आज घरमै छुँ । विद्यालय किन बन्द छ मलाई थाहा छैन । हिजो त संविधान दिवस भएर बिदा मनायौँ, आज फेरि बिदा । तर, मेरै घरको छिमेकी दाई बिहानै झोला टुमलेट भिरेर बाईबाई भन्दै विद्यालय लागे । हाम्रो मात्रै किन बिदा दिएको होला भनेर बाबालाई सोधेँ, बाबालाई पनि केही थाहा रहेनछ । तपाईंहरु सबै विद्यालय बन्द गरेर काठमाडौं लाग्नुभएको छ रे । राजधानीमा ठूला–ठूला मान्छेहरुसँग तपाईंको भेट हुन्छ होला । हाम्रो विद्यालयको चुहिने छानोको विषयमा पक्कै कुरा होला, डेस्क बेञ्च नभएको कति भयो त्यो पनि कुरा होला । तपाईं फर्किएपछि पक्कै हाम्रो विद्यालयले मुहार फेर्छ होला है !

    गाईगोरु डो¥याउँदै चोकको बाटो हिड्दै थिए । सुने तपाईं त आफ्नो अधिकारका निम्ति काठमाडौं जानुभएको हो रे ! ए साच्ची किन गुरु तपाईंलाई कसले के ग¥यो ? तपाईंले पढाएका मेरा काका आज डाक्टर हुनुहुन्छ उतै काठमाडौं बस्नुभएको छ, पल्ला घरका दाजु प्रहरीमा हुनुहुन्छ, उतै काठमाडौंतिर हुनुहुन्छ, गाह्रो परे सबैलाई भेट्नुहोला ल । अधिकार माग्दा पक्कै समस्या आउन सक्छ, आन्दोलनले उग्ररुप लिन सक्छ बचेर बस्नुहोला । गुरु, कक्षालाई निरन्तरता दिनुहुन्थ्यो होला के गर्नु फोन गर्न त रुखमा चढ्नुपर्छ कहाँबाट डाटा, वाईफाई ल्याउनु ?

    अनि आज बोर्डिङ स्कूल किन खुलेका छन् हँ ? ए, साच्ची त्यो त हाम्रा माननीयज्यूको स्कूल पो है । अनि सरकारी विद्यालयलाई बलियो बनाउँछौँ, आफ्नो साथ समर्थन छ भन्ने हाम्रा गाउँका नेताहरु आज किन चुप बसेका होलान् ? सरकारी विद्यालय बन्द हुँदा उनीहरुको टाउको दुखेको छैन । दुखोस् पनि कसरी, हाम्रै पालिकाका जनप्रतिनिधिविरुद्धको आन्दोलन रे नी है गुरु ? उहाँहरु विरुद्ध कसरी भयो ? चोकका हल्ला सुन्दै थिए, हाम्रो भनेको नमान्ने रे ? हामीलाई नस्वीकार्ने रे ? हेरौँला भन्दै थिए वडाध्यक्ष काइला ।

    ठिकै छ, तपाईंको आन्दोलन सफल होस्, मिलेर आउनु होला । हाम्रो विद्यालयको बारेमा पनि कोही मन्त्री भेटिए कुरा गर्नुहोला । ओत लाग्ने कोठामा बसेर पढ्ने ठूलो रहर छ । बेञ्चमा बस्ने उस्तै रहर छ । यहाँका प्रतिनिधि त अध्यक्ष, सदस्य चयन गर्नमात्रै लाठी भाटा उठाउँछन्, विद्यालयको वृत्तिविकासका लागि केही देखिदैन । भएका बालक्लब सबै बन्द भए । केही नयाँ गर्नुहुन्थ्यो, मन बुझाउन हुन्थ्यो बालमैत्री क्रियाकलाप केही छैन ।

    धेरै के लेखौँ र, जे भइरहेको छ राम्रैका लागि होस् ।

    (विकट क्षेत्रका विद्यार्थीले लेखेको कल्पनामा आधारित पत्र)


    बिहिवार, आश्विन ४ २०८००५:१४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij