काठमाडौँ । इजरायल र हमासबिचको युद्धले थप हिंसाको रुप लिने भएको छ। प्यालेष्टानी विद्रोही समुह हमासले इजरायललाई थप कठोर चेतावनी प्रस्तुत गरेको छ।
उसले आफ्ना माग पूरा नभएसम्म गाजामा रहेका कुनै पनि बन्धकलाई जिउँदै नछाड्ने चेतावनी दिएको छ। हमासका प्रवक्ता अबु ओबेदाले सैन्य शाखाको टेलिग्राम च्यानलमा पोस्ट गरेको अडियो क्लिपमा यस्तो चेतावनी दिएका हुन्।
उनले भने,’वार्ता र प्रतिरोधका सर्तहरूमा सहमति नगरी बन्दीहरुलाई न त फासिस्ट शत्रु र यसका घमण्डी नेतृत्व न त उनीहरू पछाडिका समर्थकहरूले जिउँदै लैजान सक्छन्।’
हमास र अन्य सशस्त्र समूहहरूले अझै पनि १३८ जनालाई नियन्त्रणमा राखेका छन्। इजरायलले बारम्बार बाँकी बन्धकहरूलाई उद्धार गर्न सक्दो प्रयास गर्ने वाचा गरेको छ।
एक हप्तासम्म भएको युद्धविराममा हमासले बन्धक बनाएका ११० जना रिहा भएका छन्। युद्धविराम सकिनासाथ इजरायलले गाजामाथि आक्रमण सुरु गरेको छ ।