काठमाडौं । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गर्नुभएको छ। साँझ ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गर्नुभएको हो ।
आइतबार(आज) नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाउनुभएको थियो ।
कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार ढलेको हो । बागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्नुहुने भएको छ ।
कांग्रेस संसदीय दलको बैठकले उहाँको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । बागमतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।
१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।