काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सहकारी ठगी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।
सरकार पक्षकै र जुनसुकै तहको व्यक्ति भए पनि प्रमाणका आधारमा दोषि देखिएको अवस्थामा निष्पक्षढंगले कारवाही हुने नेता ज्ञवालीको भनाइ रहेको छ ।
पछिल्लो समय सहकारी प्रकरणमा पक्राउ पर्ने क्रम बढिरहेको बताउँदै उहाँले यो सकारात्मक पक्ष भएको स्पष्ट पार्नुभएको छ ।
कारवाही गर्ने नाममा प्रतिशोध साध्ने काम भइरहेको भन्ने आरोपहरुको खण्डन गर्दै उहाँले यसमा पूरा निष्पक्ष भइरहेको दाबी गर्दै पक्षपाती नहुने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता ज्ञवालीले कांग्रेस उपसभापति तथा पुर्वमन्त्री धनराज गुरुङको बारेमा छानविन र अनुसन्धान सुरु भइरहेकाले ऋषिकेश पोखरेलको बारेमा पनि तथ्य प्रमाण भेटियो भने छानविन हुने स्पष्ट पार्नुभयो ।
यो सहकारी प्रकरणमा प्रतिपक्ष र सत्तापक्ष भनेर सरकारले नहेर्ने दाबी गर्दै उहाँले प्रमाण र तथ्यका आधारमा छानविन र कारवाही हुनेमा शंका नगर्न आग्रह समेत गर्नुभयो ।