काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् । बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफूहरुले कप्तानको नाम पठाउनु परेको बताइन् ।
टिम व्यवस्थापक सरिलाले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफैँले सिनियारिटीका आधारमा रेनुकालाई कप्तान बनाइएको दाबी गरिन् ।
खेलाडी मैदान प्रवेश गर्दा प्रशिक्षकले एक्कासी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइदिएको सरिलाले बताइन् । छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो । सुरुमा रेनुका नगरकोटीलाई कप्तानको जिम्मेवारी दिए पनि त्यसको एक घण्टा नबित्दै सावित्री भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।