Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मिश्रको कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’ सार्वजनिक

मिश्रको कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’ सार्वजनिक

  • आइतवार, आषाढ २९ २०८२

  • 835
    SHARES

  • मिश्रको कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’ सार्वजनिक
    काठमाडौँ। प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को विमोचन गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आज उक्त कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । 
     
    सो अवसरमा उपसभामुख रानाले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताउनुभयो । मधेसमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उहाँको भनाइ थियो । 
     
    उपसभामुख रानाले भन्नुभयो, “एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ । यसरी महिलाहरूले एकापसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनाका साथै सामीप्यता र सद्भावलाई बढाउने काम गर्छ । साथै लेखिका मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु ।”
     
    आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख रानाले बताउनुभयो ।
     
    “लेखिका मिश्रले नेपाल आएर नेपाली भाषा सिकेर त्यसलाई पुस्तकका रूपमा हामीसम्म ल्याउन सक्नुहुन्छ भने हामी पनि सक्छौँ, म पनि सक्छु । हामीले आफ्नो ऊर्जा यस्ता सकारात्मक कार्यमा खर्चिनु पर्छ”,उहाँले भन्नुभयो । उक्त कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताउनुभयो। 
     
    “म सन् १९८६ मा नेपाल आएकी हुँ। यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु”, उहाँले भन्नुभयो । उहाँले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको बताउनुभयो । 

     


    आइतवार, आषाढ २९ २०८२०८:३४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij