काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन सफल बनाउन सचेत मतदाता अनिवार्य हुन्छन् । तर, नेपालमा अझै पनि मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा मत बदर हुने, मतदानमा सहभागीता घट्ने र भ्रामक सूचनाको प्रभाव बढ्ने समस्या देखिँदै आएको छ ।
पछिल्ला निर्वाचनहरूमा सञ्चालन गरिएको मतदाता शिक्षा अभियानका कारण मतदान प्रक्रियाबारे नागरिकको बुझाइ बढेको र बदर मतको दर घट्दै गएको दावी निर्वाचन आयोग गर्दछ । तर, पछिल्ला निर्वाचनहरूमा बदर मतको संख्या भने उल्लेख्य नै रहेको देखिन्छ ।
आयोगकै तथ्यांकअनुसार प्रत्येक निर्वाचनमा औसत पाँच प्रतिशत मत बदर हुने गरेको छ । करोडौँ रुपैयाँ खर्चिएर सञ्चालन गरिने मतदाता शिक्षाले बदर मत घटाउने अपेक्षा गरिए पनि आयोगले बदर मत धेरै घटाउन सकेको छैन । आयोगले यसपटक पनि २५ करोड खर्चेर मतदाता शिक्षा सञ्चालन गर्दै छ ।
मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको जनाएको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले आयोगले मतदाता शिक्षा दिने बिषयमा यसपटक डिजिटल माध्यमलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुहुन्छ ।
प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसंकेत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ ।
भौगोलिक विकटता, भाषा विविधता, डिजिटल पहुँचको अभाव र सीमित स्रोतसाधनले मतदाता शिक्षा प्रभावकारी वन्न सकिरहेको छैन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुदैछ । कहिलेकाहि उम्मेदवार बढि हुँदा मतपत्र लामो हुने र चिन्ह उस्तै हुने कारणले पनि मत बदर हुने संभावना रहने हुँदा पनि त्यसतर्फ सचेत बनेको आयोगका सहायक प्रवक्ता न्यौपाने बताउनुहुन्छ ।
मतदाताको सहभागिता दर बढ्दै गएको र निर्वाचनप्रतिको विश्वास बलियो बन्दै गएको आयोगले दावी गरिरहँदा सबै नागरिकसम्म प्रभावकारी रूपमा मतदाता शिक्षा अहिले पुग्न सकिरहेको छैन । अहिले मतदाता शिक्षाको समय पनि कम छ यति छोटो समयमा मतदाता शिक्षा कार्यक्रम कत्तिको प्रभावकारी वन्न सक्छ ? यो पनि सोचनिय बिषय छ । तर निर्वाचनको मुखमै मतदाता शिक्षा कार्यक्रम हुने भएकाले त्यो अझ बढि प्रभावकारी हुने तर्क सहायक प्रवक्ता न्यौपानेको छ ।
देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन् । तर, विज्ञहरु नेपालमा मतदाता शिक्षा जति प्रभावकारी हुनुपर्ने हो त्यो नभएको बताउँछन् ।
पुर्वप्रशासक एकमणि नेपाल मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने र बदर मतकै कारण जित्ने उम्मेदवारले हार्न सक्ने र हार्ने उम्मेदवारले जित्न सक्ने परिणाम आउनेतर्फ सचेत गराउनुहुन्छ ।
निर्वाचन अवधिमा मतदान, मतदानको महत्व , मतदान गर्ने तरिका लगायतका विषयमा मतदातालाई लक्षित गरी सञ्चालन गरिने शिक्षा, सूचना तथा सन्देश नै ‘मतदाता शिक्षा’ हो ।मतदाता शिक्षा एक महिना पहिला लागू भएको भए अझै प्रभावकारी हुने तर्क पुर्वप्रशासक नेपालको छ ।
समग्रमा हेर्दा, नेपालमा मतदाता शिक्षा अझै पनि अपेक्षित रुपमा प्रभावकारी हुन नसक्दा बदर मत घटाउन र सचेत मतदान प्रवद्र्धन गर्न चुनौती देखिएको छ ।
यसका लागि निर्वाचन आयोग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र स्थानीय तहबीच समन्वय बढाई व्यवहारिक, सरल र स्थानीय भाषामा आधारित कार्यक्रम विस्तार गर्न आवश्यक देखिन्छ । प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ त्यसैले डिजिटल माध्यमसँगै गाउँ–गाउँसम्म पुग्ने प्रत्यक्ष अभिमुखीकरण, विद्यालयस्तरबाटै मतदाता शिक्षा र निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्न पनि जरुरी छ ।