Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, आयोग आचारसंहिता पालनाको निगरानीमा, मर्यादित र कानुनी सीमाभित्र रहन आग्रह (खासखबर)

प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, आयोग आचारसंहिता पालनाको निगरानीमा, मर्यादित र कानुनी सीमाभित्र रहन आग्रह (खासखबर)

  • मंगलवार, फाल्गुण ५ २०८२

  • 343
    SHARES

  • प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, आयोग आचारसंहिता पालनाको निगरानीमा, मर्यादित र कानुनी सीमाभित्र रहन आग्रह (खासखबर)

    काठमाडौं । देश चुनावमय बनेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु आआफ्ना चुनावी एजेण्डा बोकेर मतदाताको घर आँगनमा पुगिरहेका छन् । प्रत्यक्ष निर्वाचनमा होमिएका ३ हजार ४ सय ६ जना उम्मेदवारहरु मतदाताको नाँडी छामिरहेका छन् ।

    निर्वाचन आयोगले औपचारिक प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारहरुलाइृ १५ दिनको औपचारिक समय दिएको छ । जुन समय सोमवारदेखि सुरु भएको छ । तर, उम्मेदवारहरु भने यसअघि नै अर्थात उम्मेदवारी दर्ता गरे लगत्तै प्रचारप्रचारमा होमिएका छन् । उम्मेदवारहरुले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार गर्ने छन् ।

    मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था भएकाले औपचारिक रूपमा चुनावी प्रचार–प्रसार आजदेखि सुरु भएको हो । निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न भनेको छ । आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित प्रचार गर्न आयोगले निर्देशन दिएको छ ।

    आयोगले यसअघि नै राजनीतिक दलहरुसँग छलफल गर्दै लागु गरेको हो निर्वाचन आचारसंहिता । आचारसंहिता उल्लघंन गर्नेहरुलाई आयोगले सचेत पनि गराउँर्दै आएको छ । तर, राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहितालाई पूर्ण पालना गर्न भने अटेर गर्दै आएको आयोगले सार्वजनिक गरेको उजुरीको तथ्यांकले नै देखाएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले यसअघि प्रतिबद्धता पनि जनाएका छन् । आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाई छ ।

    यसअघिका निर्वाचनमा पनि निर्वाचनको प्रचार प्रसारका समयमा आचारसंहिता नाघेर विभिन्न उम्म्मेदवार र दलले चुनावी प्रचार गर्ने गरेका थिए । यसपालिको निर्वाचनमा पनि आचारसंहिता उल्लङ्घनका चुनावी गतिविधि नहोलान् भन्न सकिदैन । आचारसंहिता उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ । प्रचार–प्रसारका क्रममा हुने गतिविधिको निगरानीका लागि देशभर अनुगमन टोली परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार सोमवारबाट सुरु भएको प्रचार–प्रसारका क्रममा जाति, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा मत माग्न, घृणा फैलाउने अभिव्यक्ति दिन, गलत सूचना फैलाउने तथा प्रतिद्वन्द्वीलाई अपमानित गर्ने गतिविधि गर्न पाइने छैन । आयोगका सहायक प्रवक्ता कुल बहादुर जि.सी निर्वाचन मितव्ययी बनाउन दलहरूले खर्चको स्पष्ट योजना र सीमा पालना गर्नुपर्नेमा जोड दिनुहुन्छ । साथै निर्वाचन आयोगले तोकेको खर्च सीमा कडाइका साथ पालना गर्दै निर्वाचन अभियान सञ्चालन गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

    राजनीतिक दल र उम्मेदवारहरुका प्रचार सामग्रीले सामाजिक संजाल रंगिन भएका छन् । मतदातालाई आकर्षित गर्न उम्मेदवारहरुले प्रचारको मुख्य माध्यम सामाजिक संजाललाई बनाएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग मर्यादित र जिम्मेवार ढंगले गर्न, भ्रामक तथा उत्तेजक सामग्री प्रकाशन नगर्न समेत आग्रह पनि गरेको छ ।

    यसैगरी सरकारी स्रोत, साधन र सवारी प्रयोग गर्न, सार्वजनिक स्थलमा तोकिएको स्थानबाहेक पोस्टर, पम्प्लेट टाँस्न, पर्खाल लेखन गर्न र जुलुस तथा सभामा अत्यधिक खर्च गर्न समेत निषेध गरिएको छ । सहायक प्रवक्ता जिसी दल र उम्मेदवारलाई प्रचार सामग्रीमा आईटि वेस सामग्रीको प्रयोग बढाउन आग्रह गर्नुहुन्छ । जसले गर्दा खर्च कम लाग्ने उहाँको छ ।

    निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया पनि अघि बढाइरहेको छ ।

    आयोगका अनुसार आचारसंहिताको उल्लङ्घन भएका बिषयमा अहिलेसम्म ६६ वटा स्पष्टिकरण सोधिएको छ । तर, जवाफ भने थोरैको मात्र प्राप्त भएको आयोगले जनाएको छ । ६६ मध्ये ३८ वटा उजुरीको जवाफ प्राप्त भएको छ । र केहि उजुरीको जवाफ आउने क्रममा रहेको आयोगले जनाएको छ । अहिलेसम्म निर्वाचन आयोगको कल सेन्टरमा २६ सय बढि जिज्ञासा र गुनासो आएका छन् ।

    आजदेखि औपचारिक रूपमा सुरु भएको चुनावी प्रचार–प्रसारका क्रममा राजनीतिक दल र उम्मेदवारले मतदाताको निर्णय स्वतन्त्र रूपमा प्रयोग गर्न सहयोग पुग्ने वातावरण बनाउनुपर्छ । लोकतान्त्रिक अभ्यासको महत्वपुर्ण अवसरका रूपमा रहेको यो निर्वाचनलाई सफल बनाउन सबै दल, उम्मेदवार र सरोकारवालाले मर्यादा र जिम्मेवारीका साथ प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    जिम्मेवार प्रचार–प्रसारले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने मात्र होइन, जनताको विश्वास जित्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । त्यसैले,निष्पक्ष, शान्तिपूर्ण र मर्यादित निर्वाचनका लागि दल र उम्मेदवारले आचारसंहिताको कडाइका साथ पालना गर्नु अपरिहार्य छ ।


    मंगलवार, फाल्गुण ५ २०८२०२:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij