काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र कांग्रेस अब सशक्त प्रतिपक्षको भूमिकामा उत्रने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग संवाद गर्दै नेता महरले दुई तिहाइको सरकारले जनताका आधारभूत समस्या समाधान गर्नुको सट्टा सत्ताको खिचातानीमा मात्र समय खेर फालेको आरोप लगाउनुभयो ।
महरले विशेषगरी नयाँ राजनीतिक दलहरूले चुनावका बेला गरेका बाचा र अहिलेको कार्यशैलीमा ठूलो भिन्नता देखिएको टिप्पणीसमेत गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महंगी र जनजीविकाका सवालमा सरकार संवेदनशील नभएको भन्दै उहाँले अब कांग्रेसले सडक र सदन दुवै ठाउँबाट जनताका मुद्दालाई जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले आफ्नो १०० दिनको कार्ययोजना र प्राथमिकताहरू बिर्सँदै गएको उहाँको तर्क छ ।
पार्टीको आन्तरिक अवस्थाका बारेमा बोल्दै महरले कांग्रेसभित्र वैचारिक एकता र सुदृढीकरणको आवश्यकता औंल्याउँदै महरले १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरणको मुख्य अवसरका रूपमा लिएको र यसलाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई एकजुट बनाउन आफूले देशभरका करिब ३०० भन्दा बढी नेताहरूसँग संवाद गरिसकेको जानकारी दिँदै उहाँले अब कांग्रेस आधुनिक र जनमुखी ढंगले अघि बढ्ने दाबी गर्नुभएको छ । साथै उहाँले चुनावको नतिजाले सिकाएको पाठलाई लिएर पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।