Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आन्तरिक विवाद सामाजिक सञ्जालमा छताछुल्ल पार्नु गलत हो - एमाले नेता भट्टराई

आन्तरिक विवाद सामाजिक सञ्जालमा छताछुल्ल पार्नु गलत हो - एमाले नेता भट्टराई

  • शनिवार, चैत्र २८ २०८२

  • 262
    SHARES

  • आन्तरिक विवाद सामाजिक सञ्जालमा छताछुल्ल पार्नु गलत हो - एमाले नेता भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता बिशाल भट्टराईले पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्टिलाई सामाजिक सञ्जालमा छताछुल्ल पार्ने प्रवृत्तिको कडा आलोचना गर्नुभएको छ । पार्टीका आन्तरिक विषयहरू फेसबुकमा लेखेर सस्तो लोकप्रियता कमाउन खोज्नु गलत भएको उहाँले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता भट्टराईले भर्खरै सम्पन्न निर्वाचनमा एमालेले निकै प्रतिकूल परिणाम भोगेको र यस विषयमा तल्लो तहदेखि केन्द्रसम्म गम्भीर समीक्षा भइरहेको जानकारीसमेत दिनुभयो । यस्तो संवेदनशील बेलामा पार्टीभित्र बेमौसमी बहस चलाउनु उचित नहुने उहाँले तर्क गर्नुभयो ।

    उपाध्यक्ष रामबहादुर थापा ’बादल’ले पार्टीको आधिकारिक लाइनविरुद्ध जानेलाई ’दक्षिणपन्थी’ भनी राखेको धारणा यथार्थमा आधारित भए पनि यस्ता विषयको छलफल पार्टीको बैठकमै हुनुपर्ने भन्दै नेता पार्टी भट्टराईले जेसुकै होस् तर आफू चाहिँ राम्रो देखिनुपर्छ भन्ने मानसिकता राखेर कतिपय नेताहरूले सामाजिक सञ्जालमा अरुलाई खुसी पार्न लेख्ने गरेको टिप्पणी गर्नुभयो ।

    यसैगरी, पार्टीभित्र विशेष महाधिवेशनको माग भइरहेको भन्ने कुरालाई नेता भट्टराईले ठाडै अस्वीकार गर्नुभएको छ । विशेष महाधिवेशनको माग गर्दै कतै हस्ताक्षर नभएको र यो केवल एमालेको खेदो खन्ने सञ्चारमाध्यमहरूले चलाएको हल्ला मात्र भएको भट्टराईको दाबी छ । एमालेलाई घेराबन्दी गरेर पराजित गर्न खोज्ने शक्तिहरूले अहिले पनि आक्रमण गरिरहेको भन्दै उहाँले यस्तो बेला पार्टी पङ्क्ति झन् एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    विगतमा पार्टीले गरेका कतिपय कार्यशैलीप्रति जनताको असन्तुष्टि निर्वाचन परिणामले देखाएको कुरालाई स्वीकार उहाँले जनताले रुचाउने गरी कार्यशैलीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।


    शनिवार, चैत्र २८ २०८२०९:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij