काठमाडौँ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले पार्टीको संसदीय दलको नेता चयनमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै पार्टी गुट–उपगुटभन्दा माथि उठेर एकढिक्का हुनुको विकल्प नभएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता विष्टले उक्त धारणा राखेका हुन्।
निर्वाचन सकिएको दुई महिना बितिसक्दा पनि संसद्मा जम्मा ३८ जना सांसद रहेको कांग्रेसले दलको नेता छान्न नसक्नु आम कार्यकर्ता र जनताका लागि दुखद भएको उनले बताए। सर्वसम्मतिको प्रयास विफल भएपछि रोकिएको प्रक्रियालाई निकास दिन अहिले दुई उपसभापति र दुई महामन्त्रीलाई सहमति जुटाउने जिम्मा दिइएको भन्दै उनले चाँडै परिणाम आउने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई आधिकारिकता दिइसकेको अवस्थामा असन्तुष्ट पूर्णबहादुर खड्का पक्षले पनि व्यक्तिगत ’इगो’ त्यागेर अदालतको निर्णय स्वीकार्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ। लोकतान्त्रिक पार्टीमा छुट्टै भेला र छलफल हुनुलाई सामान्य रूपमा लिनुपर्ने भन्दै विष्टले आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सम्पूर्ण तहका नेताहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
यसैगरी, काठमाडौँबाट सुकुम्बासी बस्ती हटाउने सरकारको कदमलाई उनले सकारात्मक रूपमा लिएका छन्। सुकुम्बासी बस्तीमा ’हुकुमबासी’हरू हाबी भएको अवस्थामा कुनै मुठभेडविना शान्तिपूर्ण तवरले बस्ती हटाउनु राम्रो काम भएको उनले बताए। तर, वास्तविक निमुखा सुकुम्बासी, वृद्धवृद्धा र बालबालिकालाई सडकमा बेघर बनाएर छाड्नु गैरजिम्मेवारीपूर्ण हुने भन्दै विष्टले राज्यले उनीहरूको उचित पुनस्र्थापना र बासस्थानको व्यवस्थापन तत्काल गर्नुपर्ने माग गरेका छन्।