काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले दुई तिहाइ बहुमतको वर्तमान सरकारले संसद् अधिवेशन चलिरहेकै बेला त्यसलाई छलेर अध्यादेशको बाटो रोज्नु संसदीय व्यवस्थाकै उपहास भएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग संवाद गर्दै नेता खतिवडाले संसद्को अधिवेशन हठात् अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याउनुले सरकारको गलत नियत स्पष्ट पारेको टिप्पणी गरेका छन् । अघिल्लो दिन संसद् बोलाउने र भोलिपल्टै अन्त्य गरेर अध्यादेश जारी गर्ने परम्परा संसारको कुनै पनि संसदीय इतिहासमा नभएको दाबी गर्दै उनले यसले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको बताएका छन् ।
विशेष गरी संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशतर्फ इङ्गित गर्दै उनले राज्यका प्रमुख अङ्गहरूका प्रमुखहरू रहने उक्त संरचनामा शक्ति सन्तुलन कायम हुनुपर्नेमा जोड दिए। परिषद्मा प्रधानमन्त्री, सभामुख, विपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख जस्ता ’बिग सिक्स’ को व्यवस्था शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप गरिएको भए पनि सरकारले तीन जनाले मात्र निर्णय गर्न सक्ने गरी कानुन बदल्न खोज्नु सत्ताको एकलौटी कब्जा गर्ने प्रयास भएको उनको आरोप छ।
सरकारलाई पाँच वर्षसम्म काम गर्ने स्पष्ट अवसर र जनादेश हुँदाहुँदै हतारमा अध्यादेश ल्याउनु आवश्यक नरहेको उल्लेख गर्दै खतिवडाले संसद्बाटै कानुन निर्माण गर्ने परम्परालाई जोगाउन सुझाव दिए। प्रतिपक्षमा रहेर कांग्रेसले सरकारका राम्रा कामको समर्थन गर्ने तर गलत प्रवृत्तिको डटेर विरोध गर्ने स्पष्ट पार्दै उनले जनभावना अनुसार काम नगरे जनतामा थप निराशा छाउने चेतावनी समेत दिए। शक्तिशाली प्रधानमन्त्री र स्थिर सरकारको पक्षमा आफूहरू रहे पनि अध्यादेशमार्फत संसद्लाई छल्ने कामले प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाउने उनको भनाई छ ।