काठमाडौं । वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका अध्यक्ष ऋषि धमलाले सरकारका कामकारबाहीप्रति आफ्नो समूहले निरन्तर निगरानी राख्ने बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गदै धमलालले सरकारले गर्ने हरेक गतिविधि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारलाई कुनै पनि बहानामा गल्ती गर्ने वा पूर्वाग्रही ढंगबाट काम गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो ।
स्वतन्त्र नागरिक समूह केवल एउटा संगठन मात्र नभएर देशमा सुशासन कायम गराउने एउटा सशक्त अभियान भएको बताउँदै उहाँले रास्वपालाई जनताको भावनाविपरीत कहीँकतै चुक्ने वा गल्ती गर्ने छुट नभएको बताउनुभयो ।
त्यस्तै उहाँले नागरिक समूहको मुख्य उद्देश्य सत्ताको अन्धविरोध गर्नु नभएको स्पष्ट पार्नुभयो । सरकारले जनहितमा गर्ने राम्रा कामहरूमा समूहको पूर्ण समर्थन र ऐक्यबद्धता रहने तर जनताको हितविपरीतका निर्णय वा गल्तीहरूमा भने दृढतापूर्वक खबरदारी गरिने र सरकारलाई निरन्तर झक्झक्याइरहने उहाँको भनाइ थियो । देशमा विधिको शासन र पारदर्शिता कायम गराउन नागरिक समाजको भूमिका सधैं अग्रपंक्तिमा रहने कुरामा समेत उहाँले जोड दिनुभयो ।