काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सत्ताको प्रभावमा आफ्नै मान्छे छानबिन समितिमा राख्ने अनि समितिले तयार पारेको प्रतिवेदन संसदमा सार्वजनिक नगरी कार्यान्वयनमा जाने प्रवृत्तिले गम्भीर संशय पैदा गरेको आरोप लगाउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै केन्द्रीय सदस्य तामाङले सरकारको यस्तो कार्यशैली अपारदर्शी भएको टिप्पणी गर्नुभयो ।
अर्को प्रसंगमा उहाँले गृहमन्त्री सुदन गुरुङको पुनःबहालीले वर्तमान सरकारको राजनीतिक चरित्र र छवि स्पष्ट पारेको बताउनुभयो । वर्तमान सरकार जनताकै मत र प्रक्रियाबाट बनेकाले यसका हरेक निर्णय र परिणामको हिस्सेदार पनि जनता नै हुने उहाँको तर्क थियो ।
पार्टीको आन्तरिक विषयमा बोल्दै नेता तामाङले एमालेभित्र कुनै पनि प्रकारको विवाद र भाँडभैलो नरहेको दाबी गर्नुभयो । सञ्चारमाध्यम र बाहिर प्रचार गरिएजस्तो पार्टीमा कुनै संकट नरहेको उल्लेख गर्दै उहाँले आगामी केन्द्रीय कमिटीको बैठकपछि एमाले थप सशक्त र एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।