काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले उपसभामुख बिनाको संवैधानिक परिषद् बैठक अस्वीकार गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । उहाँले आज ट्विट गर्दैै यस्तो आग्रह गर्नुभएको हो ।
‘आज बैठक बस्दै हुनुहुन्छ, फेरि बिनम्र अनुरोध ! संविधानको धारा ९३ (३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ’, सभापति देउवालाई मेन्सन गर्दै थापाले लेख्नुभएको छ, ‘उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ । उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ ।
साथै, आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद अधिवेशन बोलाउन बाध्य पानुपर्ने यसअघि पार्टी बैठकमा उठाएको स्मरण गर्दै नेता थापाले यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको बताउनुभएको छ ।
‘पार्टी बैठकमा हामीले भनेका थियौँ बरालिएका प्रधानमन्त्री ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ’, उहाँले लेख्नुभएको छ, ‘यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ ।’
