काठमाडौं । प्रदेश १ को संसद् एमाले विवादको छायाँमा परेको छ । यसअघि मुख्यमन्त्री शेरधन राई पक्षले नै आफूविरूद्धको अविश्वास प्रस्ताव छल्न अवरूद्ध गर्दै आएको प्रदेशसभा बैठक आजदेखि अनिश्चितकाल स्थगन गरिएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले आज सूचना निकालेर संसद् बैठक ‘अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने’ निर्णय गर्नुभएको हो ।
फागुन २० गतेका लागि तय भएको प्रदेशसभा बैठक सूचना टाँस गरेर चैत २ का लागि तोकिएको थियो । आज संसद् सचिवालयले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।
माघ ७ मा सुरू भएको हिउँदे अधिवेशन अहिलेसम्म राम्ररी चल्नै पाएको छैन । पहिलो दिन बैठक तीन मिनेट पनि नचली स्थगन भएको थियो ।
त्यो बेला पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव फागुन ९ मा मात्रै टेबल भएको थियो । त्यो बैठक सरकारी पक्षले बहिष्कार गरेको थियो ।
नेकपाभित्रको विवाद अदालतले राजनीतिक फैसलामार्फत् सल्टाए पनि एमालेभित्र अर्को विवाद सुरू भएको छ । यसको असर प्रदेशसम्मै देखिएको छ । प्रदेश १ संसद्मा मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव दर्ता छ ।