काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित काठमाडौंलगायत सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
यसैगरी, सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको छ ।
सरकारले सिसिएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै प्रवक्ता गुरुङले धार्मिकस्थलमासमेत २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।
सरकारले संसदको हिउँदे अधिवेशनअन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।
संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।