काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्गले पुनः बाजी मार्नुभएको छ । यसअघि उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । यसपछि फेरि उहाँलाई नै मुख्यमन्त्री नियुक्त गरिएको हो ।
उहाँलाई आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । मुख्यमन्त्री गुरुङको राजीनामापछि प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार गठनका लागि दिएको अन्तिम समयमा विपक्षी गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री दावी गर्दै दावी पत्र पेश गर्नुभएको थियो ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या पुग्ने आँकल गरिएकोमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि बहुमत गुमेको छ । राष्ट्रिय जनमोर्चाले केन्द्रबाट विपक्षी गठबन्धनमा सहभागी हुने निर्णय गरे पनि तीन सदस्य रहेको प्रदेशसभाका कृष्ण थापा र खिमविक्रम शाहीले तटस्थ बस्ने घोषणा गर्नुभएको थियो ।
संसदीय दलका नेता कृष्ण थापालाई जानकारी नदिई प्रमुख सचेतकले पार्टीको ह्वीप जारी गरेपछि बढेको विवाद अन्तत दुई खेमामा परिणत भएको छ । सचेतक पियारी थापा विपक्षी गठबन्धनको सरकार बनाउँनका लागि सक्रिय भए पनि दुई सदस्य भने तटस्थ बस्ने घोषणा गर्नुभएको थियो ।
विपक्षीले बैशाख २ गते संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही संसदमा उपस्थित नभएपछि संसद स्थगित भएको थियो ।