काठमाडौं – गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित ५ जनाले विना विभागीयमन्त्रीको रुपमा शपथ लिएका थिए ।
दलहरुबीच सहमति भएअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि उनले अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्दै आउनुभएको थियो ।
माओवादी केन्द्रबाट मन्त्री बन्नुभउकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन् । यसअघि आचार्यसँग मुख्यमन्त्री नेपालीले अर्थ मन्त्रालय दिने गरी सहमती गरेका थिए ।
यसैगरी, स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । उक्त जिम्मेवादी दिइएको जानकारी प्रदेश प्रमुखलाई दिने तयारी भइरहेको प्रवक्ता कुमार खड्काले बताउनुभयो ।
गण्डकी प्रदेशमा ११ मन्त्रालय छन् । अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ ।
अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राख्नुभएको छ ।
जेठ २९ गते गण्डकी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसदको गठबन्धनले सरकार बनाएको थियो ।