चिकित्सकहरूले कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणको दोस्रो र तेस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन् ।

वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड –१९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणबाट बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ । डा. पौडेलका अनुसार बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ ।

खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सिर्जनात्मक क्रियाकलापमा लगाउन चाँजोपाँजो मिलाउन अभिभावकले भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।
सरकारले बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि भन्दै ठूला सहरमा विद्यालयहरू बन्द गने निर्णय केही महिना अघि नै गरिसकेको छ । यस्तो अवस्थामा घर भित्रबाहिर गर्ने अभिभावकले घर आउनासाथ सिधै बालबच्चालाई समात्न नहुने पौडेल बताउँछन् ।
“भाइरस जेमा पनि हुन सक्ने हुँदा जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राखौँ । सकिन्छ भने नुहाएर मात्रै बालबालिकालाई समाउने गरौँ,“ उनले भनेका छन् ।

बालबालिकाहरूलाई कोरोनाका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ ।
“यति मृत्यु भयो, यति बिरामी भएभन्दा यति निको पनि भएका छन् भनेर सकारात्मक सोच आउने खाले सन्देश पनि दिनुपर्छ,“ उनले थपे ।
बालबालिकाहरू घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने उनको भनाइ छ ।
यसरी थापा पाउने बालबालिकामा लक्षण :

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने डा. पौडेल बताउँछन् ।
बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने उनको भनाइ छ ।
उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने उनी बताउँछन् ।
कतिपय बालबालिका सङ्क्रमित भए पनि लक्षण भने नदेखिने पनि हुनसक्ने नेपाल पेडियाट्रिक सोसाइटीले जनाएको छ ।

“विश्वका बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको ४ – ६ हप्ता पछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एमआइएससी) भइ बच्चाहरू सिकिस्त हुन सक्छन् । यसको उपचार निकै महँगो छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आइसियुकोे आवश्यकतासँगै कतिपय अवस्था जटिल समेत हुन्छ,“ सोसाइटीले सार्वजनिक गरेको अपिलमा उल्लेख गरिएको छ ।
उक्त अवस्थाको लक्षण ज्वरो, कडा झाडा पखाला, बढी पेट दुख्ने, श्वास फेर्न गाह्रो र शरीरमा डाबरको साथै मुटुका समस्याहरू पनि हुन सक्ने बताइएको छ ।
चिकित्सकहरुका अनुसार बालबालिका र बढी उमेर भएकाहरूमा देखिने लक्षण लगभग उस्तै नै हुन्छन् । प्रायःमा श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको छ ।