काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले माहोल आफ्नो पक्षमा पार्न लविङ जारी राखेका छन् ।
कतिपय दलहरुले चुनावी घोषणापत्र मार्फत आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् भने माओवादी केन्द्र लगायत केही दलले गठबन्धनसँग तालमेलगरी आफ्नो दुरगामी योजनालाई प्रष्ट्याइरहेका छन् ।
उम्मेदवारका आ-आफ्नै अडान र प्रतिवद्धता भएतापनि घोषणापत्र भने सबैको मिल्दोजुल्दो देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बढी महत्वकांक्षी घोषणापत्र ल्याएर जनतालाई प्रभावमा पार्ने व्यवहारतः कार्यान्वयनमा चुनौती देखिने आरोप लाग्दै आएको छ । घोषणापत्र लेखन समितिका सदस्य विष्णु रिमाल भने आरोपको खण्डन गर्नुहुन्छ ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो संकल्प पत्र सार्वजनिक गरेको छ । कांग्रेसले आफूले गर्नसक्ने योजनाहरुलाई मात्रै संकल्प पत्रमा समावेश गरेको घोषणापत्र लेखन समितिका सदस्य प्रताप पौडेल बताउनुहुन्छ ।
जनताको आकांक्षा विपरित घोषणापत्र ल्याएर प्रभावमा पार्ने र ठूला सपना बाँड्ने प्रवृत्ति हाबी भएको पूर्व मुख्यसचिव एवम् अर्थविद् विमल कोइरालाको भनाइ छ ।
प्रायः दलहरुलाई निर्वाचन जित्नुपर्ने हुटहुटी र माहोल आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धाका कारण जनताका आकांक्षा आझेलमा पर्ने गरेको उहाँको दाबी छ ।
घोषणा पत्रमा गरिएका बाचा कार्यान्वयनमा नआउँदा जनताले पटकपटक दिएको मतको अवमूल्यन भइरहेको विश्लेषकहरु बताउँछन् ।
मुलुक, भूगोल सुहाउँदो संकल्पले मात्रै विकासको ढोका खुल्ने उनीहरुको विश्वास छ । आसन्न स्थानीय तह निर्वाचनमा पनि राजनीतिक प्राणी बाहिरका मानिसलाई ल्याउँदा हेलिकप्टरबाट बीऊ छर्ने आश्वासनदेखि खुट्टामा पैसा राखेर मत माग्ने गरेका तस्बिर र समाचार सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।