काठमाडौं । बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन ।
बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ ।
विद्यार्थीले विना पुस्तक पढाई गर्नुपर्ने बाध्यता छ । विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो ।
नयाँ शैक्षिक सत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो ।
बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।