काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठले जाजरकोट भूकम्पमा आमाबाबु दुवै गुमाएका १० बालबालिकालाई निःशूल्क पढाइदिने बताउनुभएको छ ।
एलए एजुकेसन ग्रुपका संस्थापकसमेत रहनुभएका श्रेष्ठले भूकम्पमा आमाबुवा गुमाएका पाँच छात्रा र छात्रलाई आवासीय सुविधासहित उच्च शिक्षासम्म निःशूल्क पढाइ दिने घोषणा गर्नुभएको हो ।
उनीहरूलाई एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूमा आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राहत स्वरुप तत्कालको लागि उपलब्ध गराउने रकमले भन्दा पनि १० जनालाई माध्यमिक तह (कक्षा १२) सम्म पढाईदिन पाए यसले दीर्घकालिन असर पार्छ भन्ने लाग्यो । १० जना बालबालिकालाई सुविधासम्पन्न विद्यालयमा शिक्षाको साथै कक्षा १२ सम्म बालबालिकाको सम्पूर्ण जिम्मेवारी आफुले लिने छुँ ।’
ुविनाशकारी भूकम्पमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको निस्शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं, निर्णयबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ ।’
शिक्षाकर्मी श्रेष्ठले विगत १० वर्षदेखि वर्षेनी २० जनालाई निःशूल्क पढाउँदै आउनुभएको छ । उहाँले देशका कैयौं उत्कृष्ठ शैक्षिक संस्थाको नेतृत्व गर्नुभएको छ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।